
नेपालगञ्ज : बाँकेको नेपालञ्जमा रहेको रानी तलाउ तरकारी थोक तथा खुद्रा बजार सञ्चालक समितिले बार्षिक साधारण सभा गरेको छ। समितिका अध्यक्ष मोतिसरा थापाको अध्यक्षतामा भएको साधारण सभामा बोल्ने अधिकांशले तरकारी मण्डिलाई थप व्यवस्थित गर्नुपर्ने सुझाव दिए। किसानलाई भन्दा व्यापारीलाई मण्डीमा प्राथमिकता दिएको भन्दै किसानहरूले साधारण सभामा गुनासो गरेका थिए। रानी तलाउ खुद्रा तरकारी बजारमा ६० पसल स्टल बाट किसानको उत्पादनलाई बिक्री वितरण गरिने व्यवस्था मिलाईएको समितिका अध्यक्ष थापाले जानकारी दिइन् ।
राष्ट्रिय कृषक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष सर्वजित बिष्टले भाडामा रहेको तरकारी बजारको घरबेटी संग गरेको सम्झौता सकिने समय ३ वर्ष मात्र रहेकोले यतातिर पनि वैकल्पिक रुपमा सोच्न पर्नेमा जोड दिए । सञ्चालक समितिले सभामा ३० लाख ३८ हजार ५८७ बराबरको आयव्यय विवरण प्रस्तुत गरेको थियो । महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बिष्टले रानी तलाउ तरकारी बजारलाई व्यवस्थित गर्न अति आवश्यक देखिएको जनाए । उनले किसानलाई परिचय पत्र उपलब्ध गराएर उत्पादनलाई थप बढाउन जरुरी रहेको बताए। बिष्टले तरकारी बजारमा उपलब्ध हुने तरकारीमा विषादी प्रयोग नगर्न समेत अनुरोध गरे।
नेपालगञ्ज उप महानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष विजय रजनीश बाजपेले तरकारी बजारमा धेरै समस्या आउने गरेको बताए। बाजार भन्दा बाहिर सडकमै किसानले तरकारी बिक्री गर्न बाध्य बनेको भन्दै वडा अध्यक्ष बाचपेले यसको समाधान गर्न जरुरी रहेको जनाए । सभामा समितिका पदाधिकारी सहित तरकारी बजारका किसान तथा व्यापारी लगायतको उपस्थिति रहेको थियो।