
बर्दिया : बढैयाताल गाउॅपालिका—७ स्थित रिभर किन्स विद्यालयको जीर्ण पर्खाल ढलेर कक्षा ३ मा अध्ययनरत नौ वर्षीया छात्राको मृत्यु भएको छ ।
तीन दिनअघि पर्खाल ढलेर घाइते भएकी ती बालिकालाई उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो । त्यसपछि थप उपचारका लागि स्थानीय शिक्षण अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा शुक्रबार नौ वर्षीया मेरिना थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय, मैनापोखर, बढैयातालका प्रहरी निरीक्षक कमल क्षत्रीले बताए । छात्र र छात्राका लागि छुट्टाउन बनाइएको पर्खाल कमसल भएका कारण भत्किएको थियो । पर्खाल भत्किएपछि बालिकाको पेट र चिउडोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
विद्यालय प्रशासनको लापरबाहीले बढैयाताल फूलपुरकी ती बालिकाको अकाल मृत्यु भएको भन्दै आफन्तीले कडा कारबाहीको माग गरेका छन् । यस सम्बन्धमा विद्यालयका प्रिन्सिपल दिवस राईले घटना दुःखद् भएको प्रतिक्रिया दिए ।