
खजुरा : पशुमा बाँझोपनको समस्या समाधान गर्न बाँकेमा ‘डोर टु डोर’ कार्यक्रम सन्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले एक टोली खटाई किसानको गोठ सम्म पुगेर समस्या पहिचान सँगै उपचार सेवा प्रदान गरिरहेको हो । शुक्रबार बाँकेको खजुरामा भेटेरिनरी अस्पतालले स्थानीय पशु सेवा शाखा संगको सहकार्यमा ‘डोर टु डोर’ कार्यक्रम सन्चालन गरेको थियो ।
कृषकहरुलाई प्रोत्साहित गर्न भेटेरिनरी अस्पतालले बाँके जिल्लाका गाई भैँसीको उपचारका लागि ‘डोर टु डोर’ कार्यक्रम सन्चालन गरेको हो । किसानले पालेको गाई भैसीको बाझोपनको उपचार गर्न जानकी गाउँपालिका पछि खजुरा गाउँपालिकाका समस्या देखिएका स्थानमा पुगिरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख कमला अधिकारीले जानकारी दिइन । जानकीमा ५२ घरधुरीमा ६५ गाई भैसीमा उपचार गरिएको थियो । शुक्रबार खजुराका ५६ घरधुरीको ५८ गाई भैसीलाई बाझोपनको उपचार गरिएको विज्ञ केन्द्रका पशु विकास अधिकृत भोज बहादुर रावलले जानकारी दिए । खजुरामा व्यावसायिक रुपमा गाई भैँसी पालन र डेरी करिडोर क्षेत्रमा घरदैलो सेवा सञ्चालन गरिएको थियो ।
खजुराका वडा नम्बर २, ३, ४ र ८ नम्बर वडाका दुधालु गाई भैँसीमा प्रजनन विकृति निवारणका लागि कार्यक्रम सञ्चालन गरिएको विज्ञ केन्द्रका पशु सेवा प्राबिधिक राज बहादुर बोगटीले जनाए । बाँकी अन्य वडामा समस्या देखिएमा पछि पुनः उपचार गरिने विज्ञ केन्द्रले जनाएको छ । पशुमा हुने बाझोपनलाई निराकरण गर्न स्थानिय निकायको अनुरोधमा घरदैलो मै पुगेर कार्यक्रम सन्चालन गरिदै आइएको विज्ञ केन्द्रका प्रमुख अधिकारीले जनाइन । हाम्रो यो कार्यक्रम नियमित कार्यक्रम हो । गत वर्ष पनि यस किसिमको कार्यक्रम सन्चालन गरेका थियौ । उन्नत पशुहरुमा बाझोपनको समस्या अधिक देखिएकाले यस किसिमको कार्यक्रमलाई निरन्तरता दिदै आइरहेको उनले बताइन । पछिल्ला समय बाँकेमा व्यावसायिक रुपमा गाईभैसी पालन गर्ने किसानहरुको संख्या बढिरहेकाले ‘डोर टु डोर’ कार्यक्रम गरेर विज्ञ केन्द्रले थप हौसला दिदै आइरहेको उल्लेख गरिन् ।
गाई भैँसीको बाँझोपन, जुका, माटे, खनिज तत्व कमीबारे उपचार गरी पशुको प्रजनन स्वास्थ्य बढाउने लक्ष्य कार्यक्रमको रहेको पशु अधिकृत बोगटीले बताए । पशुको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि समेत किसानलाई विज्ञ केन्द्रले निःशुल्क उपलब्ध गराएको थियो । खजुरा गाउँपालिकामा ‘डोर टु डोर’ कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष पुर्ण बहादुर भण्डारीले पशुमा बाझोपनको समस्या भएपछि सस्तो मुल्यमा किसानले पशुु विक्रि गर्नुपरेको गुनासो सुनाए । वडाध्यक्ष भण्डारीले ‘डोर टु डोर’ कार्यक्रम मार्फत धेरै किसानले राहतको महसुस गर्नेमा विस्वस्थ रहेको जनाए । बाझोपनको समस्या समाधान पछि खजुरामा दुधको उत्पादनमा समेत वृद्धिहुने अपेक्षा गरिएको उनले बताए ।
खजुरा गाउँपालिका पशुसेवा शाखाका प्रमुख तारा खड्काले खजुराका किसानहरुले पालन गरेका गाईभैसीको उपचार शाखा मार्फत दैनिक सन्चालन गर्ने गरिएको उल्लेख गरिन । कार्यक्रममा पशु प्रजनन् कार्यालय गौघाटका डाक्टर मिलन चौधरी लगाएतको उपस्थिति थियो । बाँकेका थप अरु दुई पालिकामा पशुमा बाझोपनको समस्या भएको निवेदन आएकाले त्यसतर्फ पनि यसैगरी कार्यक्रम सन्चालन गरि ‘डोर टु डोर’ कार्यक्रम गरिने विज्ञ केन्द्रले जनायो ।

