
खजुरा : बाँकेको खजुरामा जारी १० औं डाँफे कपमा शुक्रबार नव ज्योती युवा क्लब विजयी भएको छ । न्यू डाँफे स्पोर्ट्स क्लब डि गाउँद्वारा आयोजित नकआउट फुटबल खेल प्रतियोगितामा जय किसन स्पोर्ट्स क्लब खजुरा -१ लाई ४-१ को गोल अन्तरले हराउँदै नव ज्योती युवा क्लब बैजनाथ -७ पलौतिपुर विजयी भएको हो ।
स्वर्गिय गजबहादुर सिजाली स्मृति दशौं डाँफे कपको सातौं दिनको खेल सुरु भएको एक मिनेटमै नवज्योति युवा क्लब बैजनाथ पनौतीपुरका जर्सी नम्बर ६ का भूपेन्द्र शाहीबाट पहिलो गोल भयो। नवज्योतिले दोस्रो गोल ३५ मिनेटमा गर्यो। नव ज्योतीका तर्फबाट ३५ मिनेटमा जर्सी नम्बर १० का सुदीप सुनारले दोस्रो गोल गरे। लगत्तै छत्तीसौँ मिनेटमा नवज्योतिले अर्को गोल थप्यो। नवज्योतिका टिम क्याप्टेन जर्सी नम्बर ८ का भूपेन्द्र शाहीबाट तेस्रो गोल भयो । निकै रोमाञ्चक बनेको खेलमा जयकिशन स्पोर्ट्स क्लब खजुरा एक सैनिक को तर्फबाट खेलको ५३ मिनेटमा जर्सी नम्बर ७ का बुद्धदेव शाहीबाट एक गोल भयो। जयकिशनले गरेको एक गोलको चार मिनेटपछि नवज्योतिका जर्सी नम्बर १० का खेलाडी सुदीप सुनारले पुनः एक गोल थपे।
सुदीप सुनारले गरेको गोल नै उक्त खेलको अन्तिम गोल बन्न पुग्यो। सुदीपले उक्त खेलमा दुई गोल गर्न सफल बने। खेलको म्यान अफ द म्याच पनि विजेता टिमका खेलाडी जर्सी नम्बर १० का सुदीप सुनार घोषित भए । बाँके जिल्लामै क्लब स्तरीय खेलमा सर्वाधिक राशि सहितको फुटबल प्रतियोगिता न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा डि गाउँले हरेक वर्ष गरिरहेको क्लबका अध्यक्ष हरी प्रकाश विकले जानकारी दिए ।
दशौँ डाँफे कपमा बाँके जिल्लाका १६ वटा टिमले सहभागिता जनाएका छन्। दशौँ डाँफे कप विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै उपविजेता टिमले ८० हजार ५५५ प्राप्त गर्नेछ । साथमा दुवै टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम पुरस्कारको राशि भने गत वर्षदेखि नै समाजसेवी लीलबहादुर थापाले सौजन्य गर्दै आएको खेल संयोजक तिलकवीर सुनारले बताए ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूका लागि खजुरास्थित अनन्त ज्वेलर्सले पुरस्कार राशि प्रदान गरेको क्लबका सचिव बलाराम खत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्रदान गरिने क्लबका उपाध्यक्ष तथा खेल अफिसियल नारायण खनालले जानकारी दिए ।
यस्तै दैनिक हुने खेलको म्यान अफ द म्याच घोषित खेलाडीका लागि नेपालगञ्ज स्थित लाइफलाइन हस्पिटल र खजुरा १ नम्बरस्थित फायर फूड रेस्टुरेन्टले पुरस्कार राशि प्रदान गरिरहेको क्लबका वरिष्ठ उपाध्यक्ष खनालले जनाए । चैत्र ९ गतेदेखि सुरु भएको दशौं डाँफे कप चैत्र २१ सम्म चल्ने प्रचार संयोजक खगेन्द्र दाहालले जनाए ।



