दशौं डाँफे कपमा न्यू डाँफेद्वारा गोलको वर्षा

खजुरा : बाँकेको खजुरामा जारी १० औं डाँफे कपको पहिलो चरणका खेलहरू सम्पन्न भएको छ । न्यु डाँफे स्पोर्ट्स क्लब खजुरा ४ डिगाउँ को आयोजनामा स्वर्गीय गजबहादुर सिजाली स्मृति दशौँ डाँफे कपको पहिलो चरणको शनिबार आयोजित अन्तिम खेलमा न्यु डाँफेले गोलको वर्षा गरेको छ। न्यु डाँफे स्पोर्ट्स क्लबले लालीगुराँस युथ क्लब डुडुवा कम्दीलाई ० – ८ गोल अन्तरले हराएको हो । न्यू डाँफेका तर्फबाट जर्सी नम्बर ११ का श्याम व्याडीले एकल ४ गोल गरेका थिए । खेलाडी व्याडीले खेलको १५ मिनेटमा पहिलो गोल गरे। दोस्रो गोल जर्सी नम्बर ५ का दिपेङ्ग राज सिंह ठकुरीले १४ मिनेटमा गरे। पुनः जर्सी नम्बर ११ का खेलाडी व्याडीले लगातार तीन गोल गरे। उनले १८, ५३ र ५४ मिनेटमा गोल गरेका थिए। यस्तै न्यू डाँफेकै तर्फबाट जर्सी नम्बर १० का सुदिप थापाले खेलकुद ५७ मिनेटमा छैठौं गोल गरे। सातौं गोल जर्सी नम्बर ५ का दिपेङ्ग राजसिंह ठकुरीले ६४ औँ मिनेटमा गोल गरे। जर्सी नम्बर १० का सुदीप थापाले खेलको ६९औ मिनेटमा आठौं गोल गरे। दिपेङ्ग राजसिंह ठकुरी र सुदीप थापाले खेल अवधिभर दुई दुई गोल गर्न सफल भए। खेलको म्यान अफ द म्याच जर्सी नम्बर ११ का श्याम व्याडी घोषित भए । नेपालगञ्ज स्थित लाइफलाइन हस्पिटल र खजुरा १ नम्बरस्थित फायर फूड रेस्टुरेन्टले म्यान अफ द म्याच घोषित हुने श्याम व्याडीलाई नगद ११ सय साथमा ट्रफी मेडल प्रदान गरे।

यस्तै शनिबार क्वाटर फाइनलका खेल समेत सुरु भएको छ । क्वार्टर फाइनलका पहिलो खेलमा न्यु डाँफेको बि टीमलाई ट्राइबेकरमा हराउँदै पशुपति युवा क्लब खजुरा ८ घिया सेमिफाइनलको यात्रा तय गरेको छ। खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेल ट्राइबेकरमा गएको थियो। पेनाल्टी सुटआउट मार्फत तय गरिएको खेलको नतिजामा पशुपति युवा क्लबले न्यु डाँफे बि टिमलाई १- ४ को अन्तरले हराएको थियो। क्वाटर फाइनल खेल खेलेको पशुपति युवा क्लबका जर्सी नम्बर १७ का खेलाडी विशाल थारु खेलको म्यान अफ द म्याच घोषित भए । खेलाडी थारूले ११ सय नगद साथै ट्रफी मेडल प्राप्त गरे ।

दशौँ डाँफे कपमा बाँके जिल्लाका १६ वटा टिमले सहभागिता जनाएका छन्। दशौँ डाँफे कप विजेता हुने टिमले नगद १ लाख ५५ हजार ५५५ प्राप्त गर्नेछन् । यस्तै उपविजेता टिमले ८० हजार ५५५ प्राप्त गर्नेछ । साथमा दुवै टिमले ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रथम पुरस्कारको राशि भने गत वर्षदेखि नै समाजसेवी लीलबहादुर थापाले सौजन्य गर्दै आएको खेल संयोजक तिलकवीर सुनारले बताए । खेल संयोजक सुनारले शनिबार देखि नै प्रतियोगितालाई सफल बनाउन आर्थिक तथा भौतिक रूपमा सहयोग गर्नेहरूलाई सम्मानका कार्यक्रम पनि गरिएको जनाए । शनिबार हाम्रो सर्जिकल हाउस नेपालगन्ज लगायतलाई सम्मान गरिएको थियो ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीहरूका लागि खजुरास्थित अनन्त ज्वेलर्सले पुरस्कार राशि प्रदान गरेको क्लबका सचिव बलाराम खत्रीले बताए । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र साथमा अन्य गिफ्ट समेत प्रदान गरिने क्लबका उपाध्यक्ष नारायण खनालले जानकारी दिए । आइतबार क्वाटर फाइनलका दुई खेल हुने आयोजकले जनाएको छ। पहिलो खेल पशुपति युवा क्लब बैजनाथ र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा ४ ई गाउँ बीच हुनेछ भने दोस्रो खेल भिलेज होप डुडुवा र न्यु जर्नी युवा क्लब बैजनाथ बीच हुने प्रचारप्रसार संयोजक खगेन्द्र दाहालले जनाए ।

प्रतिक्रिया

https://www.youtube.com/watch?v=DWKcoXcaE6o