
खजुरा : बाँकेको खजुरामा १० औं डाँफे कप फुटबल खेल प्रतियोगिता सुरु भएको छ ।
न्यु डाँफे स्पार्टस् क्लव खजुरा – डि गाउँको आयोजनामा भएको गज बहादुर सिजाली स्मृती १० औं डाँफे कपमा भएको उद्घाटन खेल आयोजकको पोल्टामा परेको छ ।
न्यू डाँफेको बि टीम र नेपालगन्जको योङ्ग स्टार बीच भएको खेलमा ४-२ को अन्तरले आयोजक विजयी भएको हो । खेलको निर्धारित समयमा दुवै टीमको १-१ गोल भएपछि खेल ट्राईबेकरमा गएको थियो । पेनाल्टी सुटआउट मार्फत आयोजकले थप ३ गोल गर्न सफल भयो भने योङ्ग स्टारले १ गोल मात्र गर्न सकेको थियो । क्लवका संस्थापक गजबहादुर सिंजालीको स्मृतिमा आयोजना भइरहेको प्रतियोगिताको उद्घाटन खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विक (तुफान)ले गरे ।
खेलको उद्घाटन गर्दै पालिका अध्यक्ष विकले खजुरा खेल क्षेत्रका लागि उर्वर भूमि रहेको बताए । अध्यक्ष विकले स्थानीय क्लबहरुले खेल क्षेत्रलाई अघि बढाउन विशेष भूमिका खेलिरहेको उल्लेख गरे । उनले खेल मैदान देखि अन्य खेलाडी उत्पादन कार्यका लागि पालिकाको सहयोग भइरहने जनाए । क्लबका अध्यक्ष हरी प्रकाश विकको अध्यक्षतामा भएको उद्घाटन समारोहमा खेल संयोजक समेत रहेका क्लबका पूर्व अध्यक्ष तिलकविर सुनारले दशौं संस्करण सम्म निरन्तर सञ्चालन गर्न सक्नु चुनौती रहेको उल्लेख गरे । खेल सम्पन्न गर्न करिब ८ देखि ९ लाख लाग्ने भएकाले स्थानीय सरकारले यस सम्बन्धमा आगामी वर्षमा बजेट बढाउन खेल संयोजक सुनारले अनुरोध गरे ।
बाँकेको जेठो क्लबहरू मध्यकै एक न्यू स्पोर्ट्स क्लबले हरेक बर्षजसो यस किसिमको प्रतियोगिता गर्दै आइरहेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको फुटबल खेल खजुराको यही मिनी रङ्गशालामा भएको थियो। कार्यक्रममा बोल्दै खेल संयोजक सुनारले अर्को वर्ष गोल्डकप गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए। आफूहरू गोल्डकप खेलाउन तयार रहेको तर यसमा स्थानीय सरकारले बजेट बनाउँदा कन्जुसाई नगर्न अनुरोध गरे।
खजुराको डी गाउँ स्थित मिनी रङ्गशालामा आयोजना गरिएको फुटबल प्रतियोगितामा १६ टिमले भाग लिएका छन् । शनिबार ९ गते देखि सुरु भएको प्रतियोगिता २१ गते सकिने प्रचार प्रसार संयोजक खगेन्द्र दाहालले जानकारी दिए । खेल संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ५५ हजार ५५५ र दोस्रोलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । विगत केही वर्षदेखि निरन्तर उक्त प्रतियोगिताका लागि प्रथम पुरस्कार र अन्य खेलकुदका सामग्री डि गाउँ निवासी हाल अमेरिका रहने लिल बहादुर थापाले गर्दै आएका छन् । अन्य खर्च आयोजकले स्थानिय सरकार, व्यक्ति तथा व्यापारी बाट सहयोग संकलन गरी गर्ने गरेको क्लबका कोषाध्यक्ष ओपेन्द्र खत्रीले जानकारी दिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार ५००, उत्कृष्ट गोलकिपरलाई ५ हजार ५०० र उत्कृष्ट स्कोलरलाई ५ हजार ५०० रुपैया सहित मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।
आईतबार भिलेज होम राझा र न्यू भगवती स्पोर्ट्स क्लब बैजनाथ, हासनापुर बीच अपरान्न ४ बजे खेल हुनेछ ।






