ज्ञानोदयको ४६ औं बार्षिकोत्सव सम्पन्न

खजुरा : बाँकेको खजुरामा रहेको श्री ज्ञानोदय नमुना माध्यामिक बिद्यालयले आफ्नो स्थापनाको ४६ औं बार्षिकोत्सव मनाएको छ । बिद्यालय परिषरमा विभिन्न कार्यक्रम गरि विद्यालयले बार्षिकोत्सव मनाएको हो । आयोजित वार्षिकोत्सव समारोहलाई बाँके क्षेज्ञ नम्बर ३ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोसिंह राठौरले उदघाटन गरेका थिए ।

उदघाटन कार्यक्रममा बोल्दै सांसद राठौरले संसद विकास कोषको सबै रकम आफुले शिक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको भएपनि सर्वोच्चको आदेशले कार्यान्वयन हुन नसकेको बताए । उनले आफु खजुरा क्षेत्रको विकासका लागि सक्रिय भएर लागि परेको बताउँदै खजुराको फोर लेन सडक, पेंडारी नालाको पुल आफ्नो प्राथमिकतामा रहेको बताए । उनले गौघाट सडक पनि छिटै निर्माण सम्पन्न हुने गरि ठेकेदारबाट प्रतिवद्धता प्राप्त भएको र लापरवाही गरे ठेकेदारलाई कारवाही गरिने बताउँदै परिणाम देखिने गरि आफुले योजना बनाएको बताए । उनले खजुराको बजारलाई व्यवस्थित गर्न डिपिआर बनाउन आवश्यक रहेको उल्लेख गरे । पालिकाले डिपिआरको काम गरे केन्द्रबाट गर्ने अन्य कार्य गर्न आफु लागिपर्ने सांसद राठोरले बताए ।

प्रदेशसभा सदस्य रत्न खत्रीले ज्ञानोदय आफ्नो निर्वाचन क्षेत्रभित्र नपरेपनि आफ्ना लागि योजना माग भइआए आफुने ज्ञानोदयका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे । त्यस्तै प्रदेश सभा सदस्य बादशाह कुर्मिले विद्यालयको शैक्षिक गुणस्तरमा थप वृद्धि गर्न गर्नुपर्ने कामका बारेमा छलफल गरि प्रदेश सरकारबाट हुने आवश्यक सहयोग हुनेमा विश्वस्थ रहन आग्रह गरे । कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले पालिकामा रहेका बिद्यालयहरुको शिक्षक मिलानमा गाउँपालिका गम्भीर भएर लागेको बताए । उनले बिद्यार्थी संख्याका आधारमा शिक्षक मिलान गरिने बताउँदै कम बिद्यार्थी भएका बिद्यालयबाट बढी बिद्यार्थी भएका बिद्यालयमा शिक्षक दरबन्दी मिलान गरिने बताए ।

उनले ठुला भौतिक निर्माणका कामहरु संघ र प्रदेशबाट गरिदिन माग गर्दै साना र पालिकाको बजेटले भ्याउने काममा पालिकाले परिणाम मुखी काम गरिरहेको बताए । उनले ज्ञानोदय बाट अन्य सामुदायिक विदालयहरुले पनि सिकाई गर्न आवश्यक रहेको बताए । वार्षिक उत्सवकै अवसरमा बिद्यालय परिषरमा नव निर्मित २ वटा ब्लकहरुको सांसद राठौर र पालिका प्रमुख बिकले उदघाटन गरेका थिए । समारोहकाबीच बिद्यालयमा उत्कृष्ट योगदान पु¥याउने शिक्षक, अभिभावकहरुलाई सम्मान गरिएको थियो । विद्यार्थिहरुलाई कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा बिद्यालयले प्रकाशन गरेको स्मारिकाको बिमोचन गरिएको थियो ।

कार्यक्रममा पालिका उपाध्यक्ष मन्जु मल्ल, बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर केसी, खजुरा गाउँपालिका निबर्तमान अध्यक्ष किस्मत कुमार कक्षपति लगायतले बोलेका थिए भने बिद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटाले विद्यालयले हालसम्म गरेको प्रगती, समस्या र चुनौतीका विषयमा प्रस्तुती दिएका थिए । पुनर्वास कम्पनीले खजुरा क्षेत्रमा सुकुम्बासीहरुलाई जग्गा बितरण गरेसँगै २०३४ सालमा माटोको गारो र खरको छानाबाट प्रारम्भ भएको बिद्यालयमा हाल स्नातक सम्मको अध्यापन भइरहेको छ भने बिद्यालयमा २ हजार ३ सय बढी बिद्यार्थीहरुले शिक्षा आर्जन गरिरहेका छन् ।

प्रतिक्रिया