
नेपालगन्ज : बाँकेको खजुरामा राष्ट्रिय अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी सुरु भएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा दुई दिने साहित्यिक सम्मेलनको खजुरा गाउँपालिकाका अध्यक्ष तथा खजुरा प्रज्ञा प्रतिष्ठानका कुलपति डम्बर बहादुर विकले उद्घाटन गरे । खजुरा प्रज्ञा प्रतिष्ठानका उप कुलपति डा. इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा भएको सम्मेलनले साहित्यिक विकासमा टेवा पुग्ने विस्वास गरिएको छ ।
स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा क्रियाशील रहदै आएको खजुरा प्रज्ञा प्रतिष्ठानले खजुरालाई चिनाउन साहित्यिक सम्मेलनको आयोजना गरेको जनाएको छ । कार्यक्रममा भारतबाट साहित्यिक लेखकहरुका साथै सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका रुपन्देही, दाङ, बर्दिया र बाँकेका साहित्यकारहरुको उपस्थिती रहेको छ ।
काव्य गोष्ठिको उद्घाटन गर्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर विकले खजुरा प्रज्ञा प्रतिष्ठानले खजुरा सहित देश तथा विदेशका प्रतिभालाई उजागार गर्न सफल बनेको बताए । खजुरामा साहित्य क्षेत्रमा बेग्लै पहिचान बनाउने प्रयास सफल हुदै गएको भन्दै अध्यक्ष विकले यसलाई खजुराको सानका रुपमा हेरिएको उल्लेख गरे । पहिलो दिन शुक्रबार दुई दर्जन बढि रचना बाचनका साथै सास्कृतिक प्रस्तुती गरिएको थियो । सम्मेलन शनिबार विभिन्न प्रस्तुती सगै विचार विमर्श गरेर सकिनेछ ।