
नेपालगन्ज : बाँकेको खजुरामा रहेको कुखुरा विकास फार्मले किसानको घरदैलोमा सेवा दिएर विश्व पशुपंछि दिवस मनाएको छ । फार्म नजिकै रहेका खजुराको गाउँ धवलागिरी, डि गाउँमा पुगेर फार्म प्रवन्धक सहितको टोलीले किसानहरुले पालेका कुखुराको उपचार, खोप र सल्लाह सुझाव दिएका थिए ।
फार्म वरिपरि रहेका कुखुराको स्वास्थ्य परिक्षणका साथै आवश्यक औषधि समेत वितरण गरिएको फार्म प्रवन्धक डा. सुमन खनालले जानकारी दिए । फार्मले नजिकै रहेका किसानहरुकोमा गई कुखुराहरुको परिक्षण र उपचार गरेपछि किसानलाई व्यवसाय सन्चालन गर्न सहज बन्न प्रेरित गरेको धवलागिरीका किसान योगेश रावलले बताए । नजिकैका किसानकोमा यसरी परिक्षण र उपचारका साथै रोगहरुका बारेमा रोकथामका उपायका बारेमा जानकारी दिएपछि फार्मको समेत जैविक सुरक्षा हुने कुखुरा विकास फार्मका प्रवन्धक डा. खनालले बताए ।
खजुरा विकास फार्म खजुराका कर्मचारीहरुका साथमा पशु प्रजनन कार्यालय गौघाटका पशु विकास अधिकृत डा. मिलन चौधरीको विशेष उपस्थिती रहेको थियो । दिवसको अवसरमा ५० बढि कुखुरालाई परिक्षण गरिएको फार्मले जनाएको छ । किसानलाई फार्म व्यवस्थापन कसरी गर्ने भन्ने लगाएतका विषयमा पनि कर्मचारीहरुले जानकारी गराएका थिए ।
