
विपी अस्तु, नेपालगन्ज, असार : एक सामान्य श्रमिकले आफ्नो कमाइबाट अरुका लागि कति रकम सहयोग गर्न सक्ला ? धेरै ठूलो रकमको अनुमान गर्न सकिँदैन । तर, बाँकेको खजुरा गाउँपालिकाका एक जनाले १५ वर्षको अवधिमा आफ्नो कमाईबाट एक करोड भन्दा बढी रकम अरुका लागि सहयोग गरिसकेका छन् । उनको सहयोगबाट विपन्नहरुले उपचारदेखि छानोसम्म पाएका छन् । मानिसहरुको ज्यान बचेको छ । ती परोपकारी व्यक्ति हुन् खजुराको डी गाउँका लिलबहादुर थापा ।
अमेरिकामा अवकाशप्राप्त व्यक्तिहरुलाई सेवा दिने एक कम्पनीमा काम गर्ने लिलबहादुर आफूले गरेको सहयोगलाई एक मानिसको कर्तव्य पूरा गरेको रुपमा अथ्र्याउँछन् । कमाएको सबै आफूसँग राखियो भने त के मान्छे भइयो र ? अरुका लागि पनि दिन सकियो भने त्यसको आनन्द बयान नै गर्न सकिन्न,’ लिलले भने । उनले आफूले परोपकारको गुण आफ्नो बुवाबाट सिकेको बताए । उनका बुवा गजबहादुर सिजाली खजुरा क्षेत्रका प्रतिष्ठित समाजसेवी थिए । खजुराको डि गाउँ, आदर्श र मनकामना विद्यालयका संस्थापक अध्यक्ष, न्यू डाँफे स्पोर्ट्स क्लबका संस्थापक अध्यक्षसमेत रहेका गजबहादुरका साइलो छोरा हुन् लिलबहादुर । बुवाको समाजसेवा र परोपकारप्रतिको लगावबाट सानैदेखि प्रभावित भएका लिल आफ्नो लागि मात्रै सोचेर सन्तुष्ट हुने स्वभाव आफ्नो नभएको बताउँछन् । ‘दुःखी पीडित कोही छ भने उसका लागि सकेको सहयोग गरौँ भन्ने भाव ममा आइहाल्छ । त्यो बुवाबाटै आएको गुण हो जस्तो लाग्छ?’ लिलबहादुरले भने ।
लिलबहादुरको अर्काे विशेषता पनि चकित पार्ने खालको छ । त्यो हो उनको परिश्रमप्रतिको लगाव । उनी शरीरले भ्याउन्जेलसम्म काममै बिताउँछन् । आफ्नो कम्पनीको काम भ्याएर उनी अन्य ठाउँमा पनि काम गर्न भ्याइहाल्छन् । ‘कहिलेकाहीँ त लगातार ९० घण्टासम्म पनि काम गरेको छु । मलाई काम गर्नमै मजा आउँछ । यहाँ अमेरिकामा मेरा सहकर्मीहरु मलाई देखेर चकित हुन्छन् । कम्पनीले पनि उत्कृष्ठ कर्मचारीका रुपमा मलाई सम्मान गरेको छ,’ लिलबहादुरले भने ।
दाङमा रहेका दिदी भिनाजुकहाँ बसेर माध्यमिक र सिएमएको शिक्षा लिएका लिलबहादुरले भिनाजुको मेडिकलमा १८ वर्ष काम गरे । एक वर्ष अर्काे एक मेडिकलमा काम गरे । त्यसपछि डिभीमार्फत सन् २००८ डिसेम्बरमा अमेरिका गएका उनी त्यहाँको मिहिनती संस्कारबाट प्रभावित भए । काम गरेपछि पारिश्रमिक पाउने ग्यारेन्टीले उनलाई मिहिनत गर्न थप हौस्यायो । आफ्नो शरीरले भ्याएसम्म काम गर्न थाले । उनको परिश्रम गर्ने बानी अहिले ४९ वर्षको उमेरमा पनि उस्तै छ । त्यही मिहिनतको प्रतिफलस्वरुप उनले आफ्नो लागि पनि प्रशस्त कमाई गरे । कमाईको एक अंश परोपकारमा खर्च गर्दै आए । अहिले आफ्नो मासिक कमाइ करिब १५ लाख हुने गरेको उनी बताउँछन् ।
उनले आफ्नो कमाईबाट बाँके र गुल्मीका गरी चार परिवारलाई पक्की घर निर्माण गरिदिएका छन् । उनको गृह पालिका खजुराकै लिलावती खत्रीलाई घर निर्माण गरिदिए । त्यस्तै, गुल्मीको मुसिकोट नगरपालिकामा सहाराविहिन महले जिसी, बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर ५ मा ओडारमा बस्ने जुना दमाईको परिवार र गुल्मीको रेसुंगा नगरपालिका पराल्मीका एक परिवारलाई पनि उनले बस्नका लागि पक्की घर बनाइदिएका छन् । केही छानो हाल्न नसकेका परिवारलाई छानो हालिदिएका छन् । देशका सयौँ ठाउँमा हुने सामाजिक काममा सहयोग गरेका छन् । बिरामी र दुःखीपीडितको लागि आवश्यक परेजति रकम सहयोग गरेका छन् । उनको सहयोगले सुत्केरी हुन नसेककी आमाहरुलाई अस्पताल पु¥याएर ज्यान बचाइएको छ । मृर्गौलाको डायलासिस गर्न नसकेका बिरामीहरुले उपचार पाएका छन् । भोकै परेका अनाथ बालबालिका र सहाराविहीन ज्येष्ठ नागरिकहरुले केही समयका लागि भए पनि राहत पाएका छन् ।
साथिभाइ तथा सन्चारमाध्यमबाट सहयोगापेक्षीहरुको सम्पर्कमा पुग्ने गरेको बताउँदै पछिल्लो समय प्रायः युट्युबका माध्यमबाट सहयोगापेक्षी मानिसहरुको बारेमा थाहा पाउने गरेको उनले उल्लेख गरे । उनले सहयोगापेक्षीहरुका बारेमा बनाइएका भिडियो सामग्री हेरेर सहयोग गर्ने मानिसहरु छनौट गर्छन् र सकेको सहयोग पठाइदिन्छन् । कतिपय अवस्थामा उनीहरुको आवश्यकताले मागेजतिको सहयोग पनि उनले गरेका छन् । कतिपय अवस्थामा सामाजिक सन्जालमा मिथ्या सामग्रीहरु पनि आउनेतर्फ सचेत रहँदै पीडितहरुले सहयोग पाउने विश्वस्त भएर सहयोग पठाउने गरेको उनी बताउँछन् । ‘मैले संचार माध्यमलाई एक विश्वसनिय माध्यमका रुपमा हेरेर सहयोग पठाउने गरेको छु । संचार माध्यमले पनि मैले पठाएको सहयोगलाई सम्बन्धित पीडितकोमा पुग्ने गरी प्रदान गरिदिनुहुन्छ,’ उनले भने ।
‘अमेरिकामा कानुन र पद्धतिले काम गर्छ । मिहिनत खेर नजाने ग्यारेन्टी हुन्छ,’ उनले अगाडि भन्छन्,‘तर नेपालको जस्तो सामाजिक आत्मियता यहाँ भेटिन । बिरामी पर्दा, दुःख पर्दा एक्लो महसुस हुँदो रहेछ ।’ उनी केही वर्षमा अमेरिका छोडेर नेपाल आउने योजना रहेको बताउछन् । ‘फर्किएर दुःखी पीडितकै सेवामा समर्पित हुने सोचेको छु,’ उनले भविष्यको योजना सुनाए ।